Search
Close this search box.

हेटौंडा–१८ मा कक्षा ११ का विद्यार्थीलाई पूर्ण निःशुल्क शिक्षा


हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१८ वडा कार्यालयले वडा भित्रका कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि पूर्ण निःशुल्क शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीको भर्नादेखि अध्ययनसँग सम्बन्धित सम्पूर्ण शुल्क वडा कार्यालयले व्यहोर्ने निर्णय गरिएको छ। यो अभियान ज्योति माध्यमिक विद्यालय मार्फत सञ्चालन हुनेछ।
बुधबार वडा कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा वडा भित्रका पाँच विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष अनिल बानियाँ, वडा सचिव महेश पुडासैनी लगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।
वडा अध्यक्ष बानियाँका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा समस्या झेलिरहेका विद्यार्थीलाई शिक्षाबाट वञ्चित हुन नदिन कार्यक्रम सुरु गरिएको हो। उहाँले एसईई उत्तीर्ण गरेका विद्यार्थी बाहिर गएर अध्ययन गर्न बाध्य नहून् भन्ने उद्देश्यले वडा कार्यालयले लगानी गरेर अध्ययनको व्यवस्था मिलाइएको बताउनुभयो ।
आवश्यकताअनुसार कार्यक्रमलाई कक्षा १२ सम्म विस्तार गर्ने सम्भावना रहेको पनि अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रका विद्यार्थी बजारसम्म पुगेर अध्ययन गर्नुपर्ने बाध्यता कम गर्न तथा कुनै पनि बालबालिका पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan