मकवानपुरको हेटौंडा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा आज गणित, विज्ञान तथा विषयगत विधाको बृहत शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । जनप्रिय मावि र हेटौँडा नगर आसपासका गरी करिव चार हजार विद्यार्थी तथा सरोकारवालाले प्रदर्शनी अवलोकन गरी लाभ लिएका छन् ।
हेटौँडा १६ का अध्यक्ष तथा उपमहानगरपालिकाका सामाजिक विकास संयोजक रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता रहेको प्रदर्शनीमा नगरका अन्य ६ विद्यालयले सहभागिता जनाएका थिए । यसरी अवलोकन गर्न आउने विद्यालयहरुमा गोरक्षनाथ मावि हेटौँडा १८, बंशगोपाल मावि हेटौँडा ६, चन्द्रोदय मावि हेटौँडा ८, गौरीशिखर इङ्गलिस बोर्डिङ्ग स्कुल हेटौँडा १५, बालबोध मावि हेटौँडा १७ र लक्ष्मी आधारभूत विद्यालय हेटौँडा १७ लगायतका विद्यालयहरु रहेका छन् । प्रत्येक वर्ष जनप्रिय माविले आफ्नै लागतमा आयोजना गर्दै आएको बृहत शैक्षिक प्रदर्शनीबाट यसवर्ष पनि नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समेत लाभ लिएको प्रधानाध्यापक भुपेन्द्र चौलागाइले बताए । चौलागाइले भने हामी हाम्रा राम्रा अभ्यास र अन्य विद्यालयमा रहेका सकारात्मक पक्ष सदैव साटासाट गर्छौँ । शिक्षाको गुणस्तर सर्वपक्षीय सहकार्यबाट मात्र संम्भव रहेको जनप्रियलाई राम्रोसँग थाहा छ । प्रमुख अतिथि रामकृष्ण कोइरालाले अवलोकनपछि प्रतिक्रया दिँदै जनप्रियको यस्ताखाले सकारात्मक अभ्यासले यसवर्षको एसईई को नतिजामा जिपिएको आधारमा जिल्ला प्रथम हुन सफल भएको हो । यसमा स्थानीय वडा कार्यालयको तर्फबाट आफूपनि सदैव लागिपरेको बताए ।
बृहत शैक्षिक प्रदर्शनीमा गणित, विज्ञान तथा अन्य विषयका शैक्षिक सामग्रीहरु प्रदर्शनीमा प्रयोगात्मक रुपमा राखिएका थिए । शिक्षक विद्यार्थी सहकार्यमा निर्मित त्यस्ता सामग्रीबाट गणितजस्तो विषयका अमूर्त धारणालाई पनि चित्रात्मक रुपमा ग्रहण गर्न सहज भएको विद्यार्थीले प्रतिक्रिया दिएका छन् । प्रदर्शनीमा जीवनोपयोगी सीप प्रवर्धनका निम्ति जनप्रियमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेका अर्ग्यानिक उत्पादनबाट तयार पारिएका खाद्य सामग्री तथा तरकारीहरु पनि बिक्री गरिएको थियो । जनप्रियमा सिक्दै कमाउदै कार्यक्रम समेत सञ्चालनमा रहेको छ । प्रदर्शनीमा विज्ञान सम्वन्धित कार्वनरहित ग्रिन सिटीको चित्रात्मक अवधारणा, पोषण तथा खाद्य प्रदर्शनी, हाते सिप निर्मित सामग्री प्रदर्शनी गरिएको थियो ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डका प्रमुख बद्रीबहादुर पाठकले अवलोकन गर्दै भने, यी गणितीय सामग्रीको दैनिक जीवनमा प्रयोग के छ ? प्रत्येक सेक्सनका विद्यार्थीको जवाफमा पाठक मुस्कुराउँदै भने, जनप्रिय यसै अब्बल भएको होइन रहेछ । प्रदर्शनीमा जनप्रिय अतिरिक्त क्रियाकलाप तथा सास्कृतिक विभाग अन्तर्गत रहेको जनप्रिय मिडिया विभागको संयोजन तथा विषयगत विभागको सहकार्यमा नियमित रुपमा प्रकाशन हुँदै आइरहेको बिभिन्न भित्तेपत्रिका पनि प्रदर्शनीकै क्रममा बिमोचन गरिएको छ । जसअन्तर्गत गणित विषय विभाग, विज्ञान विषय विभाग र सामाजिक विषय विभागले आ आफ्नै विषयका विधागत भित्तेपत्रिका बिमोचन गरेका हुन् । त्यसैगरी मूखपत्रको रुपमा रहेको जनप्रिय दर्पणको भित्तेपत्रिका अंक पनि बिमोचन गरिएको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख युक्तलाल विश्वकर्माले जानकारी दिए । अवलोकनपछि प्रतिक्रिया दिदै चन्द्रोदय माविका सहायक प्रधानाध्यापक ब्रिजकिशोर गुप्ताले जनप्रियको यस्ता अभ्यासहरु सबै विद्यालयले अनुसरण गरी सहकार्यमूलक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । जनप्रिय माविको फिडर क्षेत्र लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद घिमिरे आफ्ना विद्यार्थीसंगै विद्यालय आए र सबैलाई सिक्न प्रेरित पनि गरे । उनको भनाइ छ, केही सिकौँ र सहकार्य गरौँ । मकवानपुर जिल्लालाई शैक्षिक गन्तव्य बनाउँन सबैको सहकार्य अनिवार्य जस्तै छ ।


