Search
Close this search box.

मनहरी गाउँपालिकाको बजेट ९८ करोड ५७ लाख

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष सीता पुलामी मगर ले बजेट प्रस्तुत गरेकी हुन् ।

चालु आर्थिक वर्षको ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेटको तुलनामा आगामी वर्षका लागि करिब १० करोड ८५ लाख रुपैयाँ बढीको बजेट प्रस्ताव गरिएको छ। कुल बजेटमध्ये ३६ करोड २५ लाख रुपैयाँ (३६.७८ प्रतिशत) पुँजीगत तथा ६२ करोड ३१ लाख रुपैयाँ (६३.२२ प्रतिशत) चालु खर्चतर्फ विनियोजन गरिएको छ।

गाउँपालिकाले पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिँदै ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ छुट्याएको छ। सामाजिक विकासतर्फ २८ करोड १८ लाख ८ हजार रुपैयाँ, प्रशासनिक तथा कार्यालय सञ्चालनका लागि १४ करोड ६६ लाख ७० हजार रुपैयाँ तथा सुशासन र संस्थागत विकासका लागि १३ करोड ८५ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रमा २१ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बालविकास शिक्षक, विद्यालय कर्मचारी व्यवस्थापन, विद्यालय बस खरिद तथा युवा–खेलकुद कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ। स्वास्थ्य क्षेत्रमा ४ करोड ८२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ, जसअन्तर्गत विपन्न क्यान्सर, मिर्गौला र पक्षघातका बिरामीलाई उपचार सहयोग, स्वास्थ्य बीमा तथा शव वाहन खरिदका कार्यक्रम सञ्चालन गरिनेछन्।

कृषि क्षेत्रका लागि १ करोड ८१ लाख रुपैयाँ र पशुपन्छी विकासका लागि २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। उत्पादनमा आधारित अनुदान, कृषि औजार वितरण, बाली बीमा, दूधमा प्रतिलिटर प्रोत्साहन अनुदान तथा पशुपालन प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

आम्दानीतर्फ गाउँपालिकाले नदीजन्य पदार्थ (दहत्तर–बहत्तर) बिक्रीबाट मात्रै २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। संघीय सरकारबाट ३६ करोड ८१ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट ६ करोड २६ लाख ४१ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ।

गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती को अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रस्तुत बजेटमाथि छलफल गरी पारित गर्न आगामी असार १३ गते पुनः बैठक बस्ने तय गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan