Search
Close this search box.

मनहरीमा एक वर्षमा २२८ योजना सञ्चालन, ५.६ किमि ढलान, २.७ किमि ग्राभेल र ४.८ किमि नयाँ ट्रयाक


मनहरी– मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विकास निर्माणलाई तीव्रता दिँदै २२८ वटा योजना सञ्चालन गरेको छ । गाउँपालिकाका अनुसार बहुवर्षीय अधिकांश पूर्वाधार आयोजना सम्पन्न हुने चरणमा पुगेका छन् भने सडक, भवन, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति हासिल भएको जनाएको छ ।

योजना शाखाका प्रमुख राजेन्द्र चौलागाईँका अनुसार चालु आर्थिक वर्षमा १७औँ गाउँसभाबाट स्वीकृत १८१ नयाँ आयोजना, गत वर्षका भुक्तानी बाँकी योजना तथा कार्यपालिका र गाउँसभाबाट थप गरिएका आयोजना गरी कुल २२८ वटा योजना सञ्चालनमा ल्याइएका थिए । तीमध्ये १९१ वटा योजनासँग उपभोक्ता समितिमार्फत सम्झौता भएको छ भने १३४ वटा योजनाको फरफारक गरी भुक्तानी प्रक्रिया सम्पन्न गरिएको छ । विनियोजित बजेटको आधारमा वित्तीय प्रगति ६६.९७ प्रतिशत तथा सम्झौताका आधारमा ६८.३१ प्रतिशत पुगेको शाखा प्रमुख चौलागाईले बताए ।

भौतिक पूर्वाधार शाखातर्फ चालु आर्थिक वर्षमा १७ करोड ५२ लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १६ करोड ९९ लाख ५३ हजार ७०० रुपैयाँ खर्च भएको छ । यससँगै शाखाले ९७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको प्राविधिक शाखा प्रमुख टुकुराज चौधरीले जानकारी दिए ।
उनका अनुसार बितेको आर्थिक वषएमा ५ हजार ६४०.३० मिटर स्लाब (ढलान) सडक निर्माण गरेको छ । त्यस्तै २ हजार ७३४ मिटर ग्राभेल सडक, ४ हजार ८५२ मिटर नयाँ सडक ट्रयाक, २ हजार ४४८.१४ मिटर रिटेनिङ वाल, १०२.५० मिटर पक्की नाला तथा ७५६.५० मिटर ग्याबिन ड्याम निर्माण गरिएको छ । यस अवधिमा २२ वटा घर अभिलेखीकरण, १० वटा नयाँ घर नक्सा पास तथा ५४ वटा योजनामा कोर कटिङ परीक्षणसमेत सम्पन्न गरिएको छ ।

पूर्वाधारतर्फ कोल्ड स्टोर, तिनभङ्गाले–बालभञ्ज्याङ–राजाराङ–पाङ्गथली सडक, ट्वाङ्ग्रा–बनकरिया–ज्यामिरे दोभान सडक, वडा नम्बर ८ को बगरटोल सिँचाइ आयोजना, वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनलगायतका आयोजना सम्पन्न भएका छन् । गाउँपालिका प्रशासनिक भवन, मनहरी अस्पताल, वडा नम्बर ४ कार्यालय भवन तथा तल्लो मसिने खानेपानी आयोजना भने निर्माणाधीन अवस्थामा रहेका छन् ।
ठूला आयोजनामध्ये वडा नम्बर ३ मा निर्माण भएको कोल्ड स्टोरको भौतिक प्रगति शतप्रतिशत पुगेको छ भने ६ करोड २८ लाख रुपैयाँको सम्झौतामध्ये हालसम्म ५ करोड ७८ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ ।

त्यसैगरी मनहरी अस्पतालको भौतिक प्रगति ७० प्रतिशत, गाउँपालिका प्रशासनिक भवनको ७० प्रतिशत तथा वडा नम्बर ४ कार्यालय भवनको ५० प्रतिशत प्रगति हासिल भएको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले विकास निर्माणसँगै उपभोक्ता अभिमुखीकरण, अनुगमन, लागत अनुमान, डिजाइन तयारी, ठेक्का व्यवस्थापन तथा निर्माण गुणस्तर परीक्षणलाई पनि प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan