Search
Close this search box.

मकवानपुरमा तरकारी बोकेको ट्रक सडकबाट खस्दा एक जनाको मृत्यु

हेटौँडा– मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजपथमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

पालुङबाट वीरगञ्जका लागि तरकारी लोड गरेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक गएराति करिब २ः ३० बजेको समयमा सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रकमा सवार राक्सिराङ गाउँपालिका–९ बस्ने ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको छ । टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनासाथ बिहान ९ः १५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक अर्जुन ट्रक चालकका काका हुन् ।

यस्तै, दुर्घटनामा ट्रक चालक राक्सिराङ–९ कै २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन् । उनको दायाँ खुट्टा फ्याक्चर भएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वर्षा र बाक्लो हुस्सुका कारण ओरालो बाटोमा चिप्लिएर अनियन्त्रित भई ट्रक सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको थियो ।

आज बिहान ६स्३० बजे दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भैँसेबाट टोली खटिएको थियो । त्यसलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरेको थियो ।

ट्रकमा दुई जना मात्र सवार रहेको र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan