हेटौँडा । झन्डै २६ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा फेरि लुम चल्न थालेका छन्। लामो समयदेखि थन्किएका मेसिन मर्मत गरी परीक्षण उत्पादन सुरु भएसँगै सरकारी स्वामित्वको यो उद्योग पुन सञ्चालन हुने आशा जागेको छ।
नेपाल सरकारले उद्योग पुन सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि पुनर्जीवनको कामले गति लिएको हो। नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा सैनिक उद्योगमा खटिएर मेसिन, विद्युत् प्रणाली, उत्पादन लाइन र अन्य संरचनाको मर्मत तथा परीक्षणमा जुटेका छन्।
हाल उद्योगका १० वटा लुमबाट परीक्षण उत्पादन भइरहेको छ। तीमध्ये तीन वटा लुमलाई आधुनिक अटोमेटिक प्रणालीमा रूपान्तरण गरिएको छ भने थप चार वटा लुम उत्पादनका लागि तयारी अवस्थामा छन्। बाँकी मेसिनको मर्मत तथा स्तरोन्नतिको काम पनि जारी छ।
सरकारले गत असार १८ गते उद्योग पुन सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादन अघि बढाइएको हो। परीक्षणका लागि ३३ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ। हाल बाहिरबाट धागो ल्याएर पुराना लुममार्फत कपडा उत्पादन भइरहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले शनिबार उद्योगको स्थलगत निरीक्षण गर्दै परीक्षण उत्पादन, मेसिन मर्मत र पुन सञ्चालनको तयारीबारे जानकारी लिइन् । निरीक्षणपछि उनले लामो समय बन्द रहेको उद्योगमा पुनः कपडा उत्पादन सुरु हुनु उत्साहजनक भएको बताइन् ।
‘लामो समय बन्द रहेको उद्योगबाट फेरि कपडा उत्पादन हुन थालेको देख्दा निकै खुसी लागेको छ,’ मन्त्री यादवले भनिन्, ‘क्रमिक रूपमा सबै मेसिन मर्मत गर्दै उत्पादन क्षमता विस्तार गरिनेछ। सरकार उद्योगलाई छिट्टै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यमा छ।’
उनले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको दीर्घकालीन व्यवस्थापनमा सरकार केन्द्रित रहेको बताउँदै स्वदेशमै कपडा उत्पादनका लागि आवश्यक कपास उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।
हाल भइरहेको उत्पादनलाई उद्योगको दीर्घकालीन सञ्चालनको आधारका रूपमा लिइएको छ। परीक्षणबाट प्राप्त नतिजाका आधारमा उद्योगलाई कुन मोडालिटीमा सञ्चालन गर्ने, कति क्षमतामा उत्पादन गर्ने तथा आवश्यक प्रविधि र मेसिनबारे निर्णय गरिने सरकारको तयारी छ।
प्राविधिकहरूका अनुसार लामो समय प्रयोगविहीन रहेका मेसिन सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण भए पनि प्रारम्भिक परीक्षण सफल भएपछि थप मेसिन सञ्चालनमा ल्याउने बाटो खुलेको छ। अहिले कपडाको गुणस्तर, मेसिनको क्षमता, विद्युत् खपत र उत्पादन लागतलगायत पक्षको परीक्षण भइरहेको छ।
कुनै बेला १,२०० जनाको रोजगारी
हेटौँडा कपडा उद्योग कुनै समय नेपालको प्रमुख सरकारी औद्योगिक प्रतिष्ठानमध्ये एक थियो। उद्योग सञ्चालनमा रहँदा करिब १,२०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए।
उद्योगले सुती धागो, कोरा, रंगीन, बुट्टेदार तथा सेतो कपडासहित नेपाली सेनाका लागि आवश्यक कपडासमेत उत्पादन गर्दै आएको थियो। स्वदेशमै कपडा उत्पादन गर्ने उद्देश्यसहित २०३२ भदौ ३० गते कम्पनी दर्ता भएको उद्योगको सोही वर्ष पुसमा शिलान्यास गरिएको थियो।
२०३५ कात्तिकबाट परीक्षण उत्पादन सुरु गरेको उद्योगको २०३५ माघ ५ गते औपचारिक उद्घाटन गरिएको थियो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको उद्योगले लामो समयसम्म सरकारी स्वामित्वको महत्वपूर्ण औद्योगिक प्रतिष्ठानका रूपमा काम गरेको थियो।
तर राजनीतिक अस्थिरता, बन्द–हडताल, व्यवस्थापकीय कमजोरी र निरन्तरको आर्थिक घाटाका कारण उद्योग कमजोर हुँदै गयो। अन्तत २०५७ माघ १८ गते उद्योग बन्द गर्ने निर्णय गरिएपछि उत्पादन पूर्ण रूपमा रोकिएको थियो।
