हेटौँडा । हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर २७ वर्षीय युवकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि भएको दुर्घटनामा सर्लाहीको बरथवा नगरपालिका–१५, पिपराभित्ता बेलटोलका विदुर विश्वकर्माको ज्यान गएको हो।
प्रहरीका अनुसार बसपार्कबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ५४ प ८३२७ नम्बरको मोटरसाइकलमा पछाडि सवार विश्वकर्मा दिउँसो करिब १२ः३५ बजे अचानक सडकमा खसेका थिए।
गम्भीर घाइते उनलाई तत्काल हेटौँडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मोटरसाइकल चालक मृतकका भतिजा नाता पर्ने १६ वर्षीय आकृत विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाही घर भई हाल हेटौँडा–११ थानाभर्याङ बस्दै आएका उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको छ।
मृतकको शव हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

