हेटौँडा । १३ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर हेटौँडाका विभिन्न होटलमा लैजाँदै यौन शोषण तथा जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा यसअघि पक्राउ परेका अर्का एक जनासहित दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने एक जना अझै फरार छन्।
पछिल्लो पटक पक्राउ पर्नेमा हेटौँडा–१० टिसिएन क्षेत्रमा डेरा गरी बस्ने ३० वर्षीय सूर्य लामा रहेका छन्। उनलाई मंसिर २ गते हेटौँडा बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ परेका लामालाई मंसिर ३ गते जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
यसअघि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा हेटौँडा क्षेत्रमा बसोबास गर्ने २० वर्षीय मनिष बुढाथोकीलाई असोज ९ गते पक्राउ गरेको थियो। उनलाई पनि अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीमा परेको जाहेरीअनुसार बालिकासँग सामाजिक सञ्जाल तथा फोनमार्फत सम्पर्क गरी हेटौँडा–१० स्थित एक कोठामा लगेर राखिएको थियो। त्यसपछि विवाह गर्ने तथा विभिन्न होटलमा काम लगाइदिने प्रलोभन देखाउँदै हेटौँडाका विभिन्न होटलमा लैजाने र यौन शोषण तथा जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गरिएको आरोप छ।
भदौ २९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बालिकालाई बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको थियो। घटनासम्बन्धी जाहेरी असोज ८ गते प्रहरीमा परेपछि अनुसन्धान अघि बढाइएको थियो।
घटनामा संलग्न रहेको आरोप लागेका मनहरी गाउँपालिका–९ रजैयाका ३५ वर्षीय राम बिसुन्के भने अझै फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पीडितको न्यायका लागि माइती नेपालले आवश्यक पहल गरिरहेको जनाइएको छ।

