हेटौँडा । हेटौँडाबाट राप्ती पुलपारी हुँदै लोथरसम्म जोडिने सडकखण्ड जीर्ण बनेपछि नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका–१९ वडा इकाई समितिले तत्काल मर्मतसम्भार गर्न माग गरेको छ। समितिले सडक मर्मतको काम सात दिनभित्र सुरु गर्न सम्बन्धित निकायलाई अल्टिमेटम दिएको छ।
समितिका सभापति सुजन बर्तौलाले बिहीबार सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरण कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सात दिनभित्र सडक मर्मतको काम सुरु गर्न माग गरेका हुन्।
ध्यानाकर्षणपत्रमा सडकका विभिन्न स्थानमा ठूलाठूला खाल्डाखुल्डी परेको, सडकका किनारा भत्किएको तथा सतह बिग्रिएको उल्लेख गर्दै सवारी आवागमन जोखिमपूर्ण बनेको जनाइएको छ। सडकको दुरवस्थाका कारण मोटरसाइकललगायतका सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढेको र स्थानीयले दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको समितिको भनाइ छ।
सडकको खराब अवस्थाले स्थानीय नागरिकको सुरक्षा, सहज आवागमन, रोजगारी तथा व्यवसायमा समेत प्रत्यक्ष असर पारेको भन्दै समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
समितिले सडक मर्मतका लागि आवश्यक बजेट, जनशक्ति र प्राविधिक व्यवस्थापन गरी तत्काल काम अघि बढाउन माग गरेको छ। सात दिनभित्र मर्मतसम्भारको काम सुरु नभए प्रभावित क्षेत्रका नागरिक, युवा तथा सरोकारवालालाई एकजुट बनाएर शान्तिपूर्ण जनदबाबमूलक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
विवाद र अवरोध सिर्जना गर्नु आफ्नो उद्देश्य नभएको उल्लेख गर्दै समितिले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सडक सुरक्षालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेको छ।
ध्यानाकर्षणपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकालाई समेत दिइएको छ।

