Search
Close this search box.

हेटौंडाका टोल विकास संस्थाबाट बाढीपीडितका लागि १८ लाख ८६ हजार सहयोग

हेटौँडा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हेटौंडाका टोल विकास संस्थाहरूले १८ लाख ८६ हजार ६०४ रुपैयाँ सहयोग गरेका छन्।

टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा विभिन्न टोल विकास संस्थाबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको हो। संकलित रकमको एकमुष्ट भौचर बिहीबार हेटौंडामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीलाई हस्तान्तरण गरिएको छ।

रकम हस्तान्तरण कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, उपाध्यक्ष विष्णुप्रसाद ढुंगाना, उपमहासचिव देवकुमार श्रेष्ठ, कोषाध्यक्ष गीता मैनाली, सचिव सुशीला मल्ल, सदस्यहरू सुरेश लामिछाने र यदुवंश खतिवडा लगायतको उपस्थिति थियो।

यस्तै, वडा समन्वय समिति हेटौंडा–८ का अध्यक्ष कुमार केसी, कालिकामाई टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद गिमिरे र कार्यालय सचिव ईशा शर्मा पनि कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले विपद्को समयमा टोल विकास संस्थाहरूले देखाएको सक्रियता र सहयोग प्रशंसनीय रहेको बताए। उनले कठिन परिस्थितिमा एकजुट भएर गरिएको सहयोग मानवीयताको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे।
उनले विपद्को समयमा सरकारी निकायसँगै समुदाय र सामाजिक संस्थाबीचको सहकार्य अझ महत्वपूर्ण हुने बताए।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले सहयोग अभियानमा सहभागी सबै टोल विकास संस्था, पदाधिकारी, सदस्य तथा सहयोगी नागरिकप्रति आभार व्यक्त गरे।

उनले संकलित रकम आर्थिक सहयोग मात्र नभई विपद्मा परेका नागरिकप्रति हेटौंडावासीले देखाएको मानवीय भावना र एकताको प्रतीक भएको बताए। टोल विकास संस्थाहरूले आगामी दिनमा पनि विपद् प्रभावितका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan