हेटौँडा । मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्धको कारबाही बढे पनि सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ४१४ वटा सवारी दुर्घटना भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ जना चालक कारबाहीमा परेका छन् । उनीहरूबाट एक करोड ७२ लाख ५४ हजार ५०४ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार आर्थिक वर्षको पहिलो छ महिनामा ७ हजार ३९० र पछिल्लो छ महिनामा १० हजार ८०२ जना चालक कारबाहीमा परेका हुन् । पहिलो छ महिनाको तुलनामा पछिल्लो छ महिनामा कारबाहीमा पर्ने चालकको सङ्ख्या ३ हजार ४१२ ले बढेको छ ।
तर, कारबाही बढ्दै गए पनि दुर्घटनाको दरमा भने उल्लेख्य सुधार देखिएको छैन । आर्थिक वर्ष २०८२/८३ मा भएका ४१४ दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका छन् ।
तथ्याङ्कअनुसार पहिलो छ महिनामा १९७ वटा दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । पछिल्लो छ महिनामा दुर्घटनाको सङ्ख्या बढेर २१७ पुगे पनि मृत्यु हुनेको सङ्ख्या भने २९ मा झरेको छ ।
ट्राफिक प्रमुख विष्टले दुर्घटना न्यूनीकरणका लागि नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुका साथै चालक र सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी चेतना र जिम्मेवारी बढाउनुपर्ने बताए ।
“कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुपर्यो । दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन । चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो,” उनले भने ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जना कारबाहीमा परेका छन् । त्यस्तै, लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

