हेटौँडा । रिद्धिसिद्धि सिमेन्ट प्रा.लि. हेटौँडाले सिआन पुनर्स्थापना केन्द्रको निर्माणाधीन नयाँ भवनका लागि ३० बोरा सिमेन्ट सहयोग गरेको छ।
हेटौँडा उपमहानगरपालिका–९ मा रहेको सिआन पुनर्स्थापना केन्द्रले सेवा विस्तार तथा सेवाग्राहीका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था गर्ने उद्देश्यले नयाँ भवन निर्माण गरिरहेको छ। भवन निर्माणका लागि आवश्यक जग्गा तानिया अग्रवालले आफ्ना दिवंगत छोराको सम्झनामा सामाजिक सेवाका लागि उपलब्ध गराएकी हुन्।
वि.सं. २०७३ सालदेखि सञ्चालनमा रहेको सिआनले लागूऔषध तथा मद्यपानसम्बन्धी समस्याबाट प्रभावित व्यक्तिको पुनर्स्थापना, मनोसामाजिक परामर्श, सुरक्षित आवास, जीवनोपयोगी सीप विकास तथा सामाजिक पुनःएकीकरणका क्षेत्रमा सेवा दिँदै आएको छ।
नेपाल सरकार, गृह मन्त्रालयबाट कार्यसम्पादनका आधारमा दुई पटक उत्कृष्ट पुनर्स्थापना केन्द्रका रूपमा सम्मानित सिआनले सेवा विस्तारसँगै संस्थागत तथा भौतिक पूर्वाधारलाई थप सुदृढ गर्ने उद्देश्यले नयाँ भवन निर्माण अघि बढाएको जनाएको छ।
रिद्धिसिद्धि सिमेन्टबाट प्राप्त सहयोगले भवन निर्माण अभियानमा थप उत्साह मिलेको सिआनले जनाएको छ। केन्द्रले सहयोगका लागि रिद्धिसिद्धि सिमेन्टप्रति आभार व्यक्त गर्दै निर्माणाधीन भवनलाई पूर्णता दिन अझै निर्माण सामग्री, आर्थिक तथा प्राविधिक सहयोग आवश्यक रहेको जनाएको छ।
भवन निर्माणका लागि तानिया अग्रवाल र सिआनले मकवानपुरका जिल्लावासी, सामाजिक अभियन्ता, नागरिक समाज, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थालाई सहयोग गर्न अपिल गरेका छन्।
केन्द्रका अनुसार यो भवन निर्माण केवल भौतिक संरचना तयार गर्ने अभियान नभई लागूऔषध तथा मद्यपानसम्बन्धी समस्याबाट प्रभावित व्यक्तिलाई सुरक्षित वातावरणमा पुनर्स्थापनाको अवसर प्रदान गर्ने मानवीय अभियान हो।
