मनहरी– मकवानपुरको मनहरी गाउँपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै आफ्ना अन्तर्गतका सम्पूर्ण विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना प्रकाशित गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। शिक्षक तथा विद्यार्थीहरूको आवतजावत र सुरक्षा जोखिमलाई ध्यानमा राखेर असोज ८ र ९ गते दुई दिन विद्यालय बिदा दिने निर्णय भएको हो । उक्त बिदा पछि मिलान गरिने कुरा पनि सूचनामा उल्लेख छ । गाउँपालिकाले मौसमको अवस्था र स्थानीय परिस्थितिलाई ध्यानमा राखी वडा कार्यालयसँग समन्वय गर्न सम्पूर्ण विद्यालयका प्रधानाध्यापक तथा प्रशासनलाई अनुरोध गरेको छ ।
विद्यालयको भौतिक संरचना, विद्यार्थी तथा शिक्षकको सुरक्षा लगायत सेवा क्षेत्रभित्र हुन सक्ने सम्भावित जोखिमबाट बच्न र बचाउन आवश्यक सावधानी अपनाउन समेत आग्रह गरिएको छ । कुनै विपद्जन्य घटना घटेमा तुरुन्त विद्यालयको इआएमएसमा अपडेट गरी गाउँपालिकाको विपद् शाखामा जानकारी गराउन वरिष्ठ विद्यालय निरीक्षक प्रदिप पराजुलीद्वारा हस्ताक्षरित सूचनामा निर्देशन दिइएको छ ।

