Search
Close this search box.

हेटौंडामा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१७ चुनडाँडामा मिनी ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब ७ः४० बजे कान्तिराजपथ सडकखण्डको सालकपार्कबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४८२४ नम्बरको मिनी ट्रकले हेटौँडाबाट शिखर कटेरीतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ५००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि करिब ५००–७०० मिटर पश्चिम चुनडाँडामा सोही ट्रकले पैदलयात्रीलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१३ पदमपोखरीका २६ वर्षीय सागर चौलागाईं र पछाडि सवार २५ वर्षीय नारायणप्रसाद ढुंगाना घाइते भएका थिए। उनीहरूको अस्पताल हेटौँडामा उपचारपछि डिस्चार्ज गरिएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी हेटौँडा–१७ चुनडाँडाकी ७२ वर्षीया जानकीमाया न्यौपानेको भने थप उपचारका क्रममा मृत्यु भएको थियो ।
हेटौँडा अस्पतालमा उपचारपछि उनलाई थप उपचारका लागि बिहीबार बिहान ११ः१५ बजे काठमाडौंस्थित बीएनबी अस्पताल रिफर गरिएको थियो। अस्पताल पुगेपछि दिउँसो २ः१४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मिनी ट्रक चालक बारा कोल्हवी नगरपालिका–४ प्रगतिनगरका करिब २५ वर्षीय पवन विकलाई नियन्त्रणमा लिएको छ।
क्रेनको सहायताले घटनास्थलबाट मिनी ट्रक निकालेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ। ट्रक चालक, ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan