हेटौँडा । मकवानपुरको सिमात खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार साँझ करिब ५ बजे बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाको बीचमा ढुंगामा पुरुषको शव अड्किएको अवस्थामा फेला परेको थियो।
प्रहरी टोली राति ८ः५० बजे घटनास्थल पुगेर बुझ्दा मकवानपुरगढी गाउँपालिका–१ निवासी ५० वर्षीय श्यामबहादुर स्याङतान बकैया–११ बाट घरतर्फ फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयको सहयोगमा खोलाबाट शव बाहिर निकालिएको थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?
