Search
Close this search box.

हेटौँडा–४ मा डुबानको समस्या घट्दै, सडक र ढल व्यवस्थापनमा तीव्रता


हेटौँडा । वर्षायाममा सडकमा पानी जम्ने र डुबानको समस्या भोग्दै आएका हेटौँडा उपमहानगरपालिका–४ का बासिन्दाले पछिल्लो समय राहतको अनुभूति गर्न थालेका छन्। वडा कार्यालयले सडक स्तरीकरण, ढल व्यवस्थापन र कालोपत्रे ओभरलेपिङलाई प्राथमिकतामा राखेर काम अघि बढाएसँगै डुबानको समस्या क्रमशः घट्दै गएको हो।
वडा अध्यक्ष नवीन सिग्देलका अनुसार हुप्रचौरस्थित पानी ट्याङ्कीबाट पशुपति मन्दिर जाने सडक स्तरीकरणको काम अघि बढेको छ। हेटौँडा उपमहानगरपालिका र सडक बोर्डको साझेदारीमा बजेट व्यवस्थापन गरिएको उक्त सडकको टेन्डर प्रक्रिया पूरा भई निर्माण कार्य अघि बढाइएको उनले बताए।
वर्षायाममा पानी जम्ने तथा आवागमनमा समस्या हुने उक्त सडक स्तरीकरणपछि वडा–४ का प्रमुख डुबानग्रस्त क्षेत्रको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।
यसैगरी बजार क्षेत्रको व्यस्त अजरअमर रोडमा कालोपत्रे ओभरलेपिङ तथा खोपे गल्लीमा समेत कालोपत्रे गर्ने तयारी गरिएको अध्यक्ष सिग्देलले जानकारी दिए।
उनका अनुसार यसअघि पारिजातपथस्थित दाजुभाइ अगाडिको क्षेत्र, प्रजातान्त्रिकपथस्थित ब्रह्मदिक अगाडि, गर्दोही क्षेत्र, हेटौँडा क्याम्पस जाने सडक तथा गरुडपथका भित्री सडकमा डुबानको समस्या समाधान गरिएको छ।
चालु आर्थिक वर्ष २०८३/०८४ मा सडक स्तरीकरण, ढल व्यवस्थापन, सडक सुधार तथा अन्य पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइएको सिग्देलले बताए। वडाले सडक स्तरीकरण, ढल तथा पेटी निर्माण र कच्ची सडक सुधारका योजनालाई प्राथमिकतामा राखेको छ।
वर्षायाममा सडकमा पानी जम्ने, खाल्टाखुल्टी हुने तथा आवागमनमा समस्या भोग्दै आएका स्थानीयका लागि सडक र ढल व्यवस्थापनका काम राहतको विषय बनेका छन्। पूर्वाधार सुधारसँगै पानीको सहज निकास र नियमित आवागमनमा समेत सुधार हुने अपेक्षा गरिएको छ।
अध्यक्ष सिग्देलले विकासका काममा भाषणभन्दा परिणामलाई प्राथमिकता दिइएको बताउँदै सडक, ढल तथा ज्येष्ठ नागरिक कक्षलगायतका पूर्वाधार निर्माणलाई निरन्तरता दिइएको बताए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan