हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ नारायणी महलनजिक ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब २ः२० बजे कर्राबाट हेटौँडातर्फ आउँदै गरेको बा ६१ प २२६० नम्बरको मोटरसाइकलले अगाडि रहेको अर्को मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ५२३२ नम्बरको खाली ट्याङ्करको अगाडिको चक्कामा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–११ नवलपुरका २५/३० वर्षीय रोहित बिडारीको टाउकोमा चोट लागेको छ। मोटरसाइकलको पछाडि सवार हेटौँडा–११ शान्तिचोकका २३ वर्षीय कबिन सरकारको टाउको र घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ।
बिडारीको अवस्था मध्यम र सरकारको अवस्था गम्भीर रहेको छ। दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले मोटरसाइकल, ट्याङ्कर र ट्याङ्कर चालक पर्साको जगरनाथपुर गाउँपालिका–४ का २३ वर्षीय विशाल यादवलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
