हेटौँडा । लगातारको वर्षाका कारण इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि देउराली–सिस्नेरी सडकखण्डमा आइतबार साँझदेखि सवारी आवागमन बन्द गरिने भएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै आइतबार दिउँसो ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म देउराली–सिस्नेरी सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालनमा रोक लगाइएको हो।
जलाशयमा पानीको सतह बढिरहेको अवस्थामा रातिको समयमा आकस्मिक रूपमा ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले पूर्वसावधानीस्वरूप सडक बन्द गर्न लागिएको जनाइएको छ।
उक्त अवधिमा भैँसे–देउराली–सिस्नेरी–बागमतीतर्फ जाने सवारी सञ्चालन गर्न पाइने छैन। त्यस्तै, काठमाडौंको फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडातर्फ आउने सवारीलाई पनि सोही अवधिमा सञ्चालन नगर्न आग्रह गरिएको छ।
अत्यावश्यक यात्रुले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ। त्रिभुवन राजपथमा भने जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको समयतालिका पालना गर्नुपर्नेछ।
पृथ्वी राजमार्ग र कान्ति लोकपथका विभिन्न स्थानमा अवरोध भएपछि त्रिभुवन राजपथमा सवारी चाप बढेकाले हेटौँडा–काठमाडौं तथा काठमाडौं–हेटौँडा आवागमनका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको छ।
कुलेखानी ड्यामको ढोका हाल खोलिएको भन्ने नभई सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप सडक बन्द गर्न लागिएको जनाइएको छ। सम्बन्धित निकायले जलाशय तथा तल्लो तटीय क्षेत्रको अवस्थाबारे निगरानी गरिरहेको र नागरिकलाई आधिकारिक सूचना हेरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
