हेटौँडा । समाजमा बढ्दो महिला हिंसा र साइबर अपराध न्यूनीकरण तथा शारीरिक र मानसिक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हेटौँडामा प्रशिक्षण कार्यक्रम हुने भएको छ।
हेटौँडा–४ नम्बर वडा कार्यालयको आयोजनामा असोज १७ र १८ गते रोयल पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको वडा अध्यक्ष नवीन सिग्देलले बताए।
कार्यक्रममा विभिन्न संघसंस्था, क्याम्पस तथा विद्यालयका शिक्षक, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक, विद्यार्थी, युवा तथा महिलालाई सहभागी गराइने उनले बताए।
अन्तर्राष्ट्रिय प्रशिक्षक सिमोन न्यौपानेले साइबर अपराध तथा शारीरिक र मानसिक सुरक्षासम्बन्धी जीवनकला तथा उत्प्रेरणामूलक प्रशिक्षण दिनेछन्। महिला हिंसा, अधिकार तथा कानुनी व्यवस्थाबारे अधिवक्ता शान्तिकुमारी सिंहले प्रशिक्षण दिने बताइएको छ।
प्रशिक्षण कार्यक्रमको व्यवस्थापन टोल विकास नगर समन्वय समितिले गर्ने समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताए। उनका अनुसार कार्यक्रममा सहभागी हुन चाहनेका लागि पासको व्यवस्था गरिएको छ भने सहभागी संख्या सीमित राखिएको छ।
समाजमा हिंसा, साइबर अपराध तथा विभिन्न विसंगति बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि कार्यक्रम आयोजना गर्न लागिएको अधिकारीले बताए।
