हेटौँडाको कृषि थोकबजारका ६३ स्टल भाडामा लगाइँदै
हेटौँडा । हेटौँडा–११ थानाभर्याङस्थित प्रादेशिक कृषि थोकबजारका ६३ वटा स्टल भाडामा सञ्चालन गर्न बोलपत्र आह्वान गरिएको छ।
कृषि थोकबजार सञ्चालक समितिले तरकारी, फलफूल तथा अन्य कृषिउपजको कारोबार सञ्चालनका लागि थोक र खुद्रा बजारका स्टल भाडामा दिन लागेको हो। समितिले असोज १० गते सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, फर्म तथा व्यवसायीलाई बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।
थोकबजारतर्फ ४० वटा र खुद्राबजारतर्फ २३ वटा स्टल भाडामा लगाइनेछ। पाँच वर्षका लागि सम्झौता गरी स्टल सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।
थोक स्टलका लागि मासिक ८ हजार ७ सय रुपैयाँ भाडादर तोकिएको छ। खुद्रातर्फ १२ वटा साना स्टलको ४ हजार ५ सय रुपैयाँ र ११ वटा ठूला स्टलको ४ हजार ७ सय रुपैयाँ मासिक भाडा निर्धारण गरिएको कार्यकारी निर्देशक टीकाप्रसाद काफ्लेले जानकारी दिए।
बोलपत्र फाराम थोक स्टलका लागि १ हजार र खुद्रा स्टलका लागि ५ सय रुपैयाँ शुल्क तिरेर खरिद गर्न सकिनेछ। फाराम खरिद गर्ने अन्तिम मिति असोज २४ गते र बोलपत्र बुझाउने अन्तिम मिति असोज २५ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने जनाइएको छ।
काफ्लेका अनुसार तत्काल बजारमा तरकारीलगायत कृषिउपज मात्र बिक्री–वितरण गर्न पाइनेछ। भविष्यमा पशु तथा पोल्ट्रीजन्य व्यवसाय सञ्चालन गर्न सकिने भए पनि हाल फोहोर व्यवस्थापनको पर्याप्त प्रणाली तयार नभएकाले त्यस्ता व्यवसाय सञ्चालन गर्न नदिइनेछ।
करिब ३२ करोड १० लाख रुपैयाँ लागतमा निर्माण भएको थोकबजार प्रदेश सरकारको ७० प्रतिशत र हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत साझेदारीमा निर्माण गरिएको हो। बजार २ बिघा ४ धुर क्षेत्रफलमा फैलिएको छ।
थोक बिक्रीका लागि दुईतले भवनमा ४० वटा सटर, कार्गो तथा यात्रु लिफ्टको व्यवस्था गरिएको छ भने खुद्रा बिक्रीका लागि छुट्टै भवनमा २३ वटा सटर छन्। साना किसानले आफ्नै उत्पादन बिक्री गर्न सक्ने टहरासमेत निर्माण गरिएको छ। बजारमा २३२ वर्गमिटर क्षेत्रफलको कोल्ड स्टोरेजसमेत रहेको छ, जहाँ ५०० मेट्रिक टन कृषिउपज भण्डारण गर्न सकिनेछ।
निर्माण सम्पन्न भएर हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण भए पनि कानुनी व्यवस्थाको अभावमा लामो समय सञ्चालनमा आउन सकेको थिएन। बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश कृषि थोकबजार सञ्चालन निर्देशिका–२०८३ जारी गरेपछि बजार सञ्चालनको बाटो खुलेको उपमहानगरपालिकाले जनाएको छ।
