हेटौँडा । जेसीआई हेटौँडाद्वारा आयोजित जेसीज सप्ताह २०२६ अन्तर्गतको अन्तर हेटौँडा जेसीज वक्तृत्वकला प्रतियोगितामा छोइसाङ लामा प्रथम भएका छन्। प्रतियोगितामा सञ्जय कुमार न्यौपाने द्वितीय र अभिलेख कठायत तृतीय भएका छन्।
बुधबार जेसीआई हेटौँडाको सचिवालयमा सम्पन्न प्रतियोगितामा कुल १२ जनाले सहभागिता जनाएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका प्रतिस्पर्धीमध्ये लामाले प्रथम स्थान हासिल गर्न सफल भएका हुन्।
जेसीआई हेटौँडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा वर्ष १९९१ का शाखा अध्यक्ष एवं नेपाल जेसीज वर्ष १९९८ का राष्ट्रिय कानुनी सल्लाहकार गणेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
प्रतीक कोइरालाको संयोजकत्वमा आयोजित प्रतियोगिताको निर्णायक मण्डलमा जेसीआई हेटौँडाका वर्ष २०१५ का अध्यक्ष दीपकराज मिश्र र वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौला रहेका थिए।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि श्रेष्ठले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। जेसीज सप्ताहअन्तर्गत युवाको वाककला, आत्मविश्वास र अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

