Search
Close this search box.

तीन ईभीमा अवैध सिट जडान, पाँच सवारीलाई ४५ हजार जरिवाना

हेटौँडा । बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सवारी नियम उल्लङ्घन नियन्त्रण गर्न मकवानपुर प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। यसक्रममा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका तीनवटा ईभीसहित पाँचवटा सवारी साधन कारबाहीमा परेका छन्।
बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले विभिन्न चेकप्वाइन्टमा सवारी साधन जाँच गर्ने क्रममा तोकिएको क्षमताभन्दा बढी सिट जडान गरिएका तीनवटा ईभी र आवश्यक कागजातबिना सञ्चालन गरिएका दुईवटा सुमो तथा बोलेरो फेला पारेको हो।

प्रहरीका अनुसार १४ सिट क्षमता भएका तीनवटा ईभीमा थप चार–चारवटा सिट जडान गरी सञ्चालन गरिएको पाइएको थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रत्येकलाई १० हजार रुपैयाँका दरले ३० हजार रुपैयाँ जरिवाना गरिएको छ।
आवश्यक कागजातबिना सञ्चालन गरिएका दुईवटा सवारी साधनलाई जनही ७ हजार ५०० रुपैयाँका दरले १५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पाँचवटै सवारी साधनबाट कुल ४५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। कारबाहीका क्रममा स्थानीय सञ्चारकर्मीको रोहबरमा ईभीमा जडान गरिएका अतिरिक्त सिटसमेत निकालिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले प्रदेश सरकारले निर्धारण गरेको समय र मार्ग उल्लङ्घन गरी वैकल्पिक बाटो प्रयोग गर्दै हेटौँडा आएका २२ वटा ईभी तथा सुमो गाडीलाई समेत ट्राफिक कारबाही गरेको छ।
प्रहरीले कारबाहीमा परेका सवारी साधनमा बा.प्र.०८–००२ ज ६९४७, बा.प्र.०१–००२ ज ७८३०, म.प्र.०४–००१ ज ०१३२, ना.१ ज ६७१० र अन टेस्ट योद्धा पिकअप रहेको जनाएको छ।
त्यस्तै सिट क्षमताभन्दा चारवटा बढी सिट जडान गरिएका बा.प्र.०६–००२ ज ०५४६ र बा.५ ख ६०८९ नम्बरका सवारी साधनलाई समेत नियन्त्रणमा लिइएको छ। ती सवारी साधनमाथि आवश्यक कारबाही गरी छाडिने प्रहरीले जनाएको छ।
सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्ने, अतिरिक्त सिट जडान गर्ने तथा निर्धारित मार्ग र समय उल्लङ्घन गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले प्रहरीले चेकजाँच र कारबाहीलाई तीव्रता दिएको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan