हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित प्रहरी चेकपोस्टबाट ११७ किलो ९१० ग्राम गाँजासहित एउटा कार बरामद भएको छ। कारका चालक भने प्रहरीलाई देखेपछि फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार राति १ बजेर ४० मिनेटको समयमा पालुङबाट भैँसेतर्फ आउँदै गरेको बा.प्र.०१–०४३१ नम्बरको कारलाई भैँसे चेकपोस्टमा नियमित जाँचका क्रममा प्रहरीले रोकेको थियो।
कार चालकले गाडीमा केही नभएको भन्दै प्रहरीलाई जवाफ दिएपछि अचानक फरार भएका थिए। त्यसपछि प्रहरीले कारको पछाडिको डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी नौ वटा पोकामा राखिएको ११७ किलो ९१० ग्राम गाँजा फेला पारेको हो।
प्रहरीले कार र बरामद गाँजा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको छ। फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

