Search
Close this search box.

सिसी क्यामेरा छन्,तर प्रहरीको पहुँच छैन; हेटौँडा बसपार्कको सुरक्षा निगरानीमा प्रश्न


हेटौँडा । हेटौँडा बसपार्क क्षेत्रमा सुरक्षा निगरानीका लागि लाखौँ रुपैयाँ खर्च गरेर जडान गरिएका सिसी क्यामेरा सञ्चालनमा रहे पनि प्रहरीले आवश्यक समयमा प्रत्यक्ष रूपमा हेर्न सक्ने अवस्था नरहेको पाइएको छ।

हेटौँडा उपमहानगरपालिका–१० वडा कार्यालयले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई क्यामेराको पहुँच उपलब्ध गराएको दाबी गरे पनि प्रहरीले भने आवश्यक एक्सेस प्राप्त नभएको जनाएको छ। यसले क्यामेराको पहुँचका विषयमा वडा कार्यालय र प्रहरीको भनाइबीच नै विरोधाभास देखिएको छ।
हाल हेटौँडा–१० मा २२ वटा सिसी क्यामेरा जडान गरिएका छन्। सुरक्षा निगरानी तथा आपराधिक घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले जडान गरिएका क्यामेराको पहुँच वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई उपलब्ध गराइएको वडा कार्यालयको दाबी छ।
तर जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार प्रहरीले क्यामेरा हेर्न आवश्यक एक्सेस पाएको छैन।
वडाध्यक्ष फुर्वा दोर्जे लामाले भने प्रहरीलाई क्यामेराको एक्सेस उपलब्ध गराइएको दाबी गर्नुभयो। उहाँका अनुसार आवश्यक पर्दा प्रहरीले वडा कार्यालयमा सम्पर्क गरेर क्यामेरा हेर्न आग्रह गर्ने गरेको छ।
“राति १० बजेसम्म पनि फोन गरेर सिसी क्यामेरामा देखाइदिन आग्रह आउने गरेको छ। हरेक समय क्यामेरा हेरेर बस्न सम्भव हुँदैन,” लामाले भन्नुभयो, “जनप्रतिनिधि सिसी क्यामेरा हेरेर बस्ने कि जनताको काम गर्ने भन्ने समस्या भएको छ।”
वडा कार्यालयमा क्यामेरा निगरानीका लागि टेलिभिजन राखिएको छ। तर प्रहरीले पटक–पटक वडामै सम्पर्क गरेर क्यामेरा हेर्न आग्रह गर्दा वडा कार्यालयको नियमित कामसमेत प्रभावित हुने गरेको लामाको भनाइ छ।
बसपार्क क्षेत्रमा चोरीलगायतका घटना हुने गरेको अवस्थामा सिसी क्यामेरा घटनापछि फुटेज हेरेर अनुसन्धान गर्न मात्र नभई घटना भइरहेको समयमा निगरानी राख्न र तत्काल प्रतिक्रिया जनाउनसमेत उपयोगी हुन्छन्। तर हेटौँडा–१० मा जडान गरिएका क्यामेराको प्रत्यक्ष पहुँच र प्रयोगको विषयमा सम्बन्धित निकायबीच नै फरक धारणा देखिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले २०८१ जेठ १ गते पत्रमार्फत सिसी क्यामेराको पहुँच माग गरेको थियो। त्यसपछि वडा कार्यालयले २०८१ असार १६ गते प्रहरीलाई आवश्यक एक थान सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो।
कागजी रूपमा सामग्री हस्तान्तरण भएको देखिए पनि प्रहरीले भने हालसम्म आवश्यक एक्सेस प्राप्त नभएको जनाएको छ। यसले क्यामेरा जडानमा खर्च भएको ठूलो रकमको प्रभावकारिता र सुरक्षा निगरानीको व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
जेनजी आन्दोलनअघि बसपार्क क्षेत्रमा १६ वटा सिसी क्यामेरा जडान गरिएका थिए। आन्दोलनका क्रममा क्यामेरामा क्षति पुगेपछि थप क्यामेरा जडान गरी संख्या २२ पुर्‍याइएको हो।
वडा कार्यालयका अनुसार सिसी क्यामेरा जडानमा करिब १२ लाख रुपैयाँ खर्च भएको छ। सुरक्षा निगरानीका लागि राज्यकोषबाट ठूलो रकम खर्चिएर उपकरण जडान गरिए पनि प्रहरीलाई आवश्यक समयमा प्रत्यक्ष पहुँच नहुँदा त्यसको प्रभावकारितामाथि प्रश्न उठेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan