हेटौँडा–तथ्याङ्कको प्रभावकारी प्रयोग र बुझाइ अभिवृद्धि गर्ने उद्देश्यका साथ मकवानपुरको मनहरी गाउँपालिकामा ‘स्थानीय तहमा तथ्याङ्कीय साक्षरता’ कार्यक्रम आयोजना गरिएको छ । तथ्यांक समन्वय कार्यालय हेटौँडाले बिहीबार मनहरी गाउँपालिका सभाहल लामिटारमा तथ्यांकीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
तथ्यांक समन्वय अधिकारी तुलसीराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपलिकाका शिक्षा अधिकृत प्रदीप पराजुली, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाललगायत स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, प्राध्यापकलगायत गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तथ्याङ्क समन्वय कार्यालयका विष्णु कार्कीले सहजीकरण गरेको कार्यक्रममा तथ्याङ्क अधिकृत रेणु कुमारी घिमिरेले कार्यक्रमको मूल उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमका अध्यक्ष एवम् तथ्याङ्क समन्वय अधिकारी तुलसीराम पोख्रेलले स्थानीय तहमा तथ्याङ्कको उत्पादन, तथ्यांकको व्यवहारिक प्रयोग, बुझाई लगायत विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । स्थानीय तहका योजना तथा नीति निर्माणमा तथ्याङ्कको सही विश्लेषण र प्रयोग अनिवार्य गर्न उनले सुझाव दिए ।
कार्यक्रमका विशेष अतिथि मनहरी गाउँपालिकाका प्रमुख शासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले गाउँपालिको समग्र नीति निर्माण तथा योजना निर्माण गर्दा तथ्यांकको प्रयोग र विश्लेषण गर्नु अत्यावश्यक रहेको बताए । तथ्यांकको प्रयोगबारे कर्मचारी र सरोकार पक्षले बुझ्ने अवसर तथ्यांक समन्वय कार्यालयमार्फत प्राप्त भएको भन्दै उपाध्यायले धन्यवाद ज्ञापन गरे ।




