हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१ नं. वडा कार्यालयले वडा दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै ९० वर्षमाथिका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।
ज्येष्ठ नागरिक वडा मञ्चको आयोजनामा भएको कार्यक्रममा वडाभित्रका १२ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको मञ्चकी अध्यक्ष लीला आचार्यले जानकारी दिइन्।
ज्येष्ठ नागरिक वडा मञ्चकी अध्यक्ष आचार्यको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नगर प्रमुख लामाले ज्येष्ठ नागरिकबीच आपसी एकता, सद्भाव र आत्मीयता कायम राख्न यस्ता सम्मान कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
कार्यक्रमका विशिष्ट अतिथि हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेले ज्येष्ठ नागरिकको अनुभव र युवाको जोशलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई नयाँ पुस्ताले आत्मसात् गर्न सके समाजको विकासमा थप योगदान पुग्ने उनको भनाइ थियो।

