Search
Close this search box.

भोटेकोशी बाढीका ५८ बेपत्तालाई मृत घोषणा गर्न प्रक्रिया अघि बढाइयो

हेटौँडा । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका मकवानपुरका ५८ जनालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु गरिएको छ। बेपत्ता व्यक्तिहरूको कानुनी अवस्था यकिन गर्न सरकारले निर्धारण गरेको विशेष प्रक्रियाअनुसार विवरण संकलन र प्रमाणीकरणको काम अघि बढाइएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबारदेखि बेपत्ताहरूको विवरण प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विशेष प्रक्रिया, २०८३ अनुसार सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण यकिन गरिनेछ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। परिवारका सदस्य उपलब्ध नभएमा स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिने व्यवस्था छ।

स्थानीय तहले निवेदन आह्वान गरी प्राप्त विवरणमाथि तीन दिनको दाबीविरोधको समय दिनेछ। त्यसपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। जिल्ला विपद् व्यवस्थापन समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको अधिकारीले बताए।

सम्बन्धित वडा कार्यालयले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ गतेभित्र पालिकामा पेस गर्नुपर्नेछ। स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ गतेभित्र विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाउनुपर्नेछ। तोकिएको समयअघि विवरण प्राप्त भएमा प्रक्रिया पनि अगाडि नै सुरु गरिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार हेटौँडा उपमहानगरपालिकाका २१ जना, थाहा नगरपालिकाका २० जना, मनहरी गाउँपालिकाका चार जना, मकवानपुरगढी गाउँपालिकाका तीन जना, बकैया गाउँपालिकाका तीन जना, भीमफेदी गाउँपालिकाका दुई जना, इन्द्रसरोवर गाउँपालिकाका दुई जना, कैलाश गाउँपालिकाका दुई जना र राक्सिराङ गाउँपालिकाका एक जना सम्पर्कविहीन छन्।

सम्पर्कविहीन हुनेमा ४१ जना चालक, १५ जना मजदुर, एक जना नेपाली सेनाका जमदार र एक जना इन्जिनियर रहेका छन्। बाढीमा फसेका मकवानपुरका ४५ जनालाई रसुवा र नुवाकोटका विभिन्न स्थानबाट उद्धार गरिएको थियो।

यसैबीच, बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भइसकेको छ। मृत्यु पुष्टि भएका हेटौँडा–१५ का सुमन गोले, हेटौँडा–५ का उद्धव खड्का, हेटौँडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन रानाको शव आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन्।

विशेष प्रक्रियामार्फत बेपत्ता व्यक्तिहरूको विवरण प्रमाणीकरण भएपछि उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan