Search
Close this search box.

सिआनको १०औँ साधारणसभा सम्पन्न, खेलकुद र शुभकामना आदानप्रदान

हेटौँडा । सिआन पुरुष पुनर्स्थापना केन्द्र, हेटौँडा–९ लामसुरेहाइटको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार हेटौँडा–९ स्थित बाल उत्थान पार्कमा साधारणसभासँगै मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दसैँ शुभकामना आदानप्रदान तथा पिकनिक कार्यक्रम आयोजना गरिएको हो।
केन्द्रका सञ्चालक समितिकी अध्यक्ष मन क्षेत्रीको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि घलानले सिआन पुनर्स्थापना केन्द्रले लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिहरूको उपचार, पुनर्स्थापना तथा सामाजिक पुन एकीकरणमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले मकवानपुरका केही स्थानीय तहमा समेत पुनर्स्थापना केन्द्रको आवश्यकता रहेको उल्लेख गर्दै यस्ता संस्थाको सेवा विस्तार र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।

साधारणसभामा अध्यक्ष मन क्षेत्रीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा केन्द्रमा २५१ जना सेवाग्राही भर्ना भएका थिए। तीमध्ये १६९ जना पुरुष र ८२ जना महिला रहेका छन्। उपचार पूरा गरी १६८ जना सेवाग्राही समाजमा फर्किएका छन् भने ७९ जना उपचाररत रहेको प्रतिवेदनमा उल्लेख छ।
केन्द्रले सेवाग्राहीको शारीरिक, मानसिक तथा व्यवहारिक सुधारका लागि मनोसामाजिक परामर्श, पारिवारिक परामर्श, योग, ध्यान, अनुशासन तथा लतबाट पुनः प्रभावित हुने जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, सेवाग्राहीलाई आत्मनिर्भर बनाउने उद्देश्यले मौरीपालन, कृषि तथा तरकारी खेती, पशुपन्छीपालन र टनेल खेतीसम्बन्धी सीपमूलक तालिमसमेत सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
आगामी दिनमा उपचार तथा परामर्श सेवालाई थप प्रभावकारी बनाउने, विशेषज्ञ मनोचिकित्सकीय सेवा विस्तार गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने र स्थानीय तहसँगको समन्वय बढाउने लक्ष्य संस्थाले अघि सारेको छ।
कोषाध्यक्ष मिनु अग्रवालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको वार्षिक आय एक करोड रुपैयाँभन्दा बढी रहेको छ।

कार्यक्रमको अवसरमा चारवटा पुनर्स्थापना केन्द्रबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताले पुनर्स्थापना केन्द्रमा रहेका सेवाग्राहीबीच आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो। प्रतियोगितामा सहभागी प्रथम खेलाडीहरूलाई मेडल लगाएर सम्मान गरिएको थियो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, नेपाल मानव अधिकार संगठनकी अध्यक्ष शर्मिला श्रेष्ठ, सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलाल, महिलाहरूका लागि महिला एकल महिला समूहकी अध्यक्ष शारदा चौलागाईं, सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष विशालराज महत, पत्रकार रामकुमार एलन, महिला उत्थान समाजका संयोजक अर्जुन खड्का, सिआन पुरुष पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसी, सिआन महिला पुनर्स्थापना केन्द्रकी सञ्चालक तान्या अग्रवाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan