हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन प्रक्रिया टुंगिन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताउनुभएको छ। संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी व्यवहारमा कार्यान्वयन गर्न प्रहरी समायोजन अपरिहार्य रहेको उहाँको भनाइ छ।
७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले शुक्रबार हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रहरी समायोजनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकारलाई आफ्नो क्षेत्राधिकारभित्र शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गर्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने सरकार प्रदेश नै भएकाले प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा प्रदेशको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो। तीनै तहका सरकारबीच समन्वय, सहकार्य र संवाद कायम गर्दै प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र टुंग्याउन उहाँले आग्रह गर्नुभयो।
मुख्यमन्त्री थापाले प्रदेशमा शान्ति सुरक्षा सुदृढ बनाउने, विपद् जोखिम न्यूनीकरण गर्ने तथा उद्धार र राहत कार्यलाई व्यवस्थित बनाउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन, आधुनिक प्रविधि र तालिमको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो।
महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रविधिमा आधारित अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएका उहाँले प्रहरी संगठनलाई सक्षम, आधुनिक, व्यावसायिक र उत्तरदायी बनाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री थापाले कानुनको निष्पक्ष कार्यान्वयन र नागरिकको अधिकार संरक्षण प्रहरीको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कारले मात्रै प्रहरीप्रतिको जनविश्वास बलियो बनाउने उहाँको धारणा थियो।
कार्यक्रममा कर्तव्यपालनका क्रममा सहादत प्राप्त अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सुरक्षित समाज निर्माणमा योगदान पुर्याएको भन्दै ‘प्रहरी दर्पण’ कार्यक्रममार्फत टिम टेलिभिजन र नेशनल गोल्ड टेलिभिजनलाई प्रशंसापत्र प्रदान गरिएको थियो। त्यसैगरी वरिष्ठ पत्रकार प्रताप विष्टसहित उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

