सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेका छन्।
आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थलमा तीन महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई उद्धार गरी प्रारम्भमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा लगिएको थियो। पछि घाइते चारै जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।
घाइते हुनेमा ओखलढुंगा निवासी करिब २९ वर्षीय चालक आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ निवासी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई तथा दिक्तेल नगरपालिका–१ निवासी १३ वर्षीय अंकित विक रहेका छन्।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ।
प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। मृतक तथा बेपत्ता व्यक्तिहरूको पहिचान र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

