हेटौँडा । दशैंको मुखमा हेटौँडामा खसीको मासुको मूल्य बढाउने निर्णय तत्कालका लागि स्थगित गरिएको छ । माछामासु व्यवसायी संघले असोज २७ गतेदेखि लागू हुने गरी प्रतिकिलो एक सय रुपैयाँ मूल्य बढाउने निर्णय गरेकोमा त्यसलाई स्थगित गरेको हो ।
संघले खसीको मासुको मूल्य प्रतिकिलो एक हजार एक सय रुपैयाँबाट बढाएर एक हजार दुई सय रुपैयाँ पुर्याउने निर्णय गरेको थियो । मूल्यवृद्धि लागू भएको भए उपभोक्ताले प्रतिकिलो मासु खरिद गर्दा थप एक सय रुपैयाँ तिर्नुपर्ने अवस्था थियो ।
चाडपर्वको समयमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तुको खर्च बढिरहेका बेला खसीको मासुको मूल्यसमेत वृद्धि गर्ने निर्णयले उपभोक्तालाई थप आर्थिक भार पर्ने देखिएको थियो । दशैंको मुखमा गरिएको मूल्यवृद्धिप्रति उपभोक्ताको चासो बढिरहेका बेला संघले मूल्य बढाउने निर्णय तत्कालका लागि स्थगित गरेको जनाएको छ ।
हेटौँडामा यसअघि खसीको मासु प्रतिकिलो एक हजार एक सय रुपैयाँमा बिक्री हुँदै आएको थियो । मूल्यवृद्धि स्थगित भएसँगै उपभोक्ताले तत्कालका लागि पुरानै मूल्यमा मासु खरिद गर्न पाउने भएका छन् ।

