Search
Close this search box.

हेटौँडाको भुटनदेवी मन्दिरमा विधिपूर्वक भित्र्याइयो फूलपाती

हेटौँडा । बडादशैँको सातौँ दिन फूलपातीका अवसरमा मकवानपुरको हेटौँडा–१० स्थित प्रसिद्ध भुटनदेवी मन्दिरमा शनिबार विधिपूर्वक फूलपाती भित्र्याइएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार बाजागाजा र पूजाआजासहित फूलपाती भित्र्याइएसँगै मन्दिर क्षेत्रमा दशैँको रौनक बढेको छ।

भुटनदेवी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा नवकन्यासहित गोरक्षेश्वर दिव्यधामबाट बाजागाजासहित निस्किएको टोली बुद्धचोक हुँदै नगर परिक्रमा गरेर मन्दिर पुगेको थियो। मन्दिरमा वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक उत्तम शर्मा ढकालले जानकारी दिए।

फूलपाती भित्र्याउने क्रममा देवीलाई सलामी अर्पण गरिएको थियो। कार्यक्रममा नेपाली सेनाले समेत सलामी दिएको थियो। फूलपाती भित्र्याउने धार्मिक विधिमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिलगायत सहभागी थिए।

दशैँको महत्त्वपूर्ण धार्मिक विधिका रूपमा लिइने फूलपातीका दिन घर तथा मन्दिरमा फूलपाती भित्र्याएर दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ। नवरात्रको सातौँ दिन नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको पूजा गरिन्छ। फूलपातीले नेपाली मौलिक संस्कृति, धार्मिक आस्था र परम्परालाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

फूलपाती भित्र्याइएसँगै भुटनदेवी मन्दिरमा पूजाआजा तथा दर्शन गर्न आउने भक्तजनको चहलपहल बढेको छ। भक्तजनको सहजताका लागि मन्दिरमा दर्शन तथा प्रवेशको व्यवस्थापन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

घटस्थापनादेखि सुरु भएको बडादशैँ महाअष्टमी, महानवमी हुँदै विजयादशमीसम्म मनाइन्छ। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan