मकवानपुर। हेटौँडा–भैँसे सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–१ बादरेभीरमा भाडाको विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार आइतबार १ गते दिउँसो करिब १२ः३० बजे काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो।
दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन्। उनको मुखमा चोट लागेको र थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूमा रौतहट दुर्गा भगवतीका राजेश साह, चन्दा कुमारी साह, शिवा कुमारी साह र बालबालिकासहित अन्य यात्रु रहेका छन्। भारतको बिहार, मोतिहारीका सर्फे आलम पनि घाइते भएका छन्। त्यस्तै, रौतहटका सबिता कुमारी चौधरी, राहुल ठाकुर र विजय कुमार ठाकुर घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हरि साहलाई चितवन रिफर गरिएपछि उनका छोरीहरू चन्दा कुमारी र शिवा कुमारी तथा नातिनातिनासमेत थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल गएको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य अवस्थामा रहेका दुई बालबालिकासहित केही यात्रुलाई पनि चोटपटक लागेको प्रहरीले प्रहरीले जनाएको छ।
दुर्घटनापछि ईभी चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। गाडीका साहु शिवकान्त झासँग सम्पर्क भएको तथा दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

