हेटौँडा । नेपालीहरूको महान् चाड बडादसैँ २०८३ को अवसरमा सिद्धार्थ शिशु सदन बोर्डिङ स्कुलअन्तर्गत सिद्धार्थ बाल समूहको आयोजनामा विद्यालय प्राङ्गणमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
पठनपाठनसँगै बालबालिकाको चौतर्फी विकास, अन्तर्निहित प्रतिभाको प्रस्फुटन तथा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, नाटक तथा अन्य रचनात्मक गतिविधिले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई उजागर गरेका थिए। प्रस्तुतिमार्फत विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, समानता र पारस्परिक सम्मानको सन्देशसमेत प्रवाह गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धराज अर्याल, विद्यालय अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, सिद्धार्थ शिशु सदन व्यवस्थापन समितिका सदस्यसचिव तथा प्रधानाध्यापक निर्मल पराजुली, व्यवस्थापन समितिका सदस्य तथा सहप्रधानाध्यापक केदार न्यौपाने र सदस्य रञ्जिता केसीको विशेष उपस्थिति रहेको थियो।त्यसैगरी, बुद्ध टोल विकास समितिका अध्यक्ष विनोद महत, सहसचिव रमेशप्रसाद लामिछानेसहित विभिन्न क्षेत्रका व्यक्तित्व तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
विद्यालयले शैक्षिक ज्ञानसँगै विद्यार्थीलाई आफ्नो मौलिक पहिचानप्रति सचेत बनाउने, अन्य धर्म र संस्कृतिप्रति सम्मान गर्न सिकाउने तथा जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
सिद्धार्थ बाल समूहका अध्यक्ष विपुल राज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण समूहकी सचिव साम्रागी थापाले गरेकी थिइन्।

