हेटौँडा । हेटौँडा–काठमाडौं सडकखण्डमा सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) ले निर्धारित क्षमताभन्दा बढी यात्रु बोक्ने र अवैध रूपमा अतिरिक्त सिट जडान गरी सञ्चालन गर्ने गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारबाहीलाई कडाइ गरेको छ।
पछिल्लो समय हेटौँडा–काठमाडौं सडकखण्डमा बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै यात्रुको सुरक्षाका लागि प्रहरीले सवारी जाँचमा तीव्रता दिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८३ मंसिर १ गते इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले भीमफेदी गाउँपालिका–६ स्थित चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा चारवटा ईभीमा अवैध रूपमा अतिरिक्त सिट जडान गरिएको फेला पारेको थियो।
प्रहरीका अनुसार सवारी दर्ता किताबमा १४ सिट क्षमता उल्लेख भएका ती सवारीसाधनमा थप चार–चारवटा सिट जडान गरी सञ्चालन गरिएको थियो। यसरी निर्धारित क्षमताभन्दा बढी यात्रु बोक्ने व्यवस्था गरिएको पाइएपछि प्रहरीले सवारीसाधनमा जडान गरिएका अतिरिक्त सिटसमेत हटाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रतिगाडी १० हजार रुपैयाँका दरले चारवटै सवारीसाधनलाई कुल ४० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। स्थानीय सञ्चारकर्मीको रोहबरमा अतिरिक्त सिट निकालिएको थियो।
कारबाहीमा पर्ने सवारीसाधनमा बा.प्र. ०८-००१ ज ००४२, बा.प्र. ०१-००२ ज ६२३९, बा.प्र. ०१-००२ ज ७००६ र बा.प्र. ०१-००२ ज ६९८१ नम्बरका ईभी रहेका छन्।
प्रहरीले सवारी चालक तथा सञ्चालकलाई सवारी दर्ता प्रमाणपत्रमा उल्लेखित सिट क्षमताभन्दा बढी यात्रु नराख्न र अवैध रूपमा अतिरिक्त सिट जडान नगर्न आग्रह गरेको छ।

