Search
Close this search box.

जेसीआई हेटौँडाको जेसीज सप्ताह मंसिर २ देखि, रक्तदानदेखि क्रिकेट प्रतियोगितासम्म

हेटौँडा । युवाको नेतृत्व क्षमता र व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले जेसीआई हेटौँडाले मंसिर २ गतेदेखि सप्ताहव्यापी जेसीज सप्ताह आयोजना गर्ने भएको छ। संस्थाले रक्तदान, वक्तृत्वकला, साइबर सुरक्षा सचेतना, शैक्षिक प्रतियोगिता तथा खेलकुदलगायतका कार्यक्रम समेटेर सप्ताह सञ्चालन गर्न लागेको हो।

सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिन आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा जेसीआई हेटौँडाका अध्यक्ष सन्तोष पराजुलीले युवाको नेतृत्व विकास र सामाजिक सेवाका गतिविधिलाई सँगसँगै अघि बढाउने उद्देश्यले कार्यक्रम तय गरिएको जानकारी दिए। उनका अनुसार जेसीआईले युवाको क्षमता अभिवृद्धिका साथै समुदायसँग जोडिएका विभिन्न सामाजिक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ।
निर्धारित कार्यक्रमअनुसार मंसिर २ गते बिहान ८ बजे हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रमबाट सप्ताहको सुरुवात हुनेछ। जीवन छत्कुलीको संयोजकत्वमा हुने रक्तदानपछि सोही दिन साँझ ४ः३० बजे जेसीआई हेटौँडाको सचिवालयमा अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता (ओरिटरी) आयोजना गरिनेछ। उक्त प्रतियोगिताको संयोजन प्रतीक कोइरालाले गर्नेछन्।
मंसिर ३ गते नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा दिउँसो २ बजे साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन हुनेछ। युवालाई डिजिटल सुरक्षासम्बन्धी जानकारी र सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रमको संयोजन विवेक फुयालले गर्नेछन्। जेसीआईले यसअघि भुटनदेवी माध्यमिक विद्यालयमा पनि यस्तो कार्यक्रम सञ्चालन गरेको थियो। सोही दिन दिउँसो ४ः३० बजे मामाघर नेपालमा सामग्री हस्तान्तरण कार्यक्रम हुनेछ। यसको संयोजन आशु बानियाँले गर्नेछन्।
त्यसैगरी, मंसिर ४ गते बिहान १० बजे जेसीआई हेटौँडाको सचिवालयमा अन्तरमाध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ। विद्यार्थीको ज्ञान, क्षमता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्य राखिएको प्रतियोगिताको संयोजन रिद्धम पौडेलले गर्नेछन्।
सप्ताहको अन्तिम दिन मंसिर ५ गते बिहान ७ः३० बजे माया स्पोर्ट्स सेन्टरमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुनेछ। मित्रप्रसाद गौतमको संयोजकत्वमा हुने प्रतियोगितापछि सोही दिन दिउँसो ३ बजे जेसीआई हेटौँडाको सचिवालयमा समापन तथा पुरस्कार वितरण समारोह गरिनेछ। समापन कार्यक्रमको संयोजन विश्वप्रसाद गौतमले गर्नेछन्।
जेसीआई हेटौँडाका अध्यक्ष सन्तोष पराजुलीको अध्यक्षतामा सञ्चालन हुने सप्ताहको मुख्य कार्यक्रम संयोजकमा सञ्जयकुमार न्यौपाने तथा सहप्रमुख कार्यक्रम संयोजकमा विनोद वाग्ले रहेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan