हेटौँडा । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन दोस्रो सुरुङको बुधबार ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले निजगढबाट काठमाडौं जोड्ने ३.४४५ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु गरेका हुन्।
महादेवटारमा समानान्तर रूपमा निर्माण भइरहेका दुई सुरुङमध्ये यसअघि नै काठमाडौं–निजगढतर्फ जाने ३.४८६ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भइसकेको छ। दुवै सुरुङको निर्माण सम्पन्न भएपछि महादेवटारमा द्रुतमार्गको महत्वपूर्ण सुरुङ खण्ड पूरा हुनेछ। आयोजना प्रमुख भरतलाल श्रेष्ठका अनुसार ३.४८६ किलोमिटर लामो सुरुङ नेपालकै सबैभन्दा लामो सडक सुरुङ हो।
महादेवटार सुरुङको ब्रेक थ्रु भएसँगै द्रुतमार्गको निर्माणमा अर्को महत्वपूर्ण उपलब्धि थपिए पनि समग्र आयोजनाको प्रगति भने अपेक्षाकृत सुस्त देखिएको छ। आयोजना प्रमुख श्रेष्ठका अनुसार हालसम्म द्रुतमार्गको भौतिक प्रगति ५१ प्रतिशत मात्रै पुगेको छ।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमा कुल ११.२ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ। सातवटा सुरुङमध्ये धेद्रे र लेनडाँडाको ब्रेक थ्रु भइसकेको छ। ती सुरुङमा अहिले अन्तिम चरणका काम भइरहेका छन्। धेद्रे सुरुङ १ हजार ६ सय ९१ मिटर र लेनडाँडा सुरुङ १ हजार ६ सय २३ मिटर लामो छ। दुवै स्थानमा भित्रिने र बाहिरिने गरी चारवटा सुरुङ निर्माण गरिएका छन्।
अन्य सुरुङको निर्माण भने अझै जारी छ। २ हजार २ सय ३७ मिटर लामो चन्द्रामभीर सुरुङमध्ये हालसम्म ७ सय ८० मिटर खनिएको छ। त्यस्तै, ५ सय २० मिटर लामो सिसौटार सुरुङमा ५३ मिटर र १ हजार ८७ मिटर लामो देवीचौर सुरुङमा १ सय २३ मिटर खनिएको नेपाली सेनाले जनाएको छ। ५ सय ८३ मिटर लामो मौरीभीर सुरुङको पोर्टल निर्माण भइरहेको छ।
नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिइएको नौ वर्ष पुग्न लाग्दा पनि आयोजनाको भौतिक प्रगति आधाको हाराहारीमै सीमित छ। सुस्त निर्माण गति, जग्गा अधिग्रहणसम्बन्धी विवाद र रुख कटानमा भएको ढिलाइले आयोजना सम्पन्न गर्ने समय पटक–पटक सरेको छ।
२०७४ साउन २७ गते नेपाली सेनालाई जिम्मेवारी दिइएको आयोजनाको निर्माण २०८१ मंसिरभित्र सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य थियो। निर्धारित समयमा काम पूरा हुन नसकेपछि पहिलो पटक २०८३ चैतसम्म म्याद थप गरिएको थियो। पछिल्लो पटक २०८६ चैतसम्म निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ।
द्रुतमार्गको सुरु विन्दु मानिएको ललितपुरको खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण, आयोजना सुरु हुने स्थानको निर्धारण र सवारी आवागमन व्यवस्थापनका विषय अझै टुंगिएका छैनन्।
आयोजनाका अनुसार उक्त क्षेत्रमा डीपीआरअनुसार मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १ सय ३६ रोपनी र गुठीको जग्गा १४ रोपनी छ। थप १ सय ६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन बाँकी छ।
स्मार्ट सिटी, बाहिरी चक्रपथ र द्रुतमार्गलगायतका आयोजना एउटै क्षेत्रमा निर्माण गर्दा स्थानीय पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामा क्षति पुग्ने भन्दै स्थानीयले विरोध गर्दै आएका छन्। यही विवादले आयोजनाको सुरु विन्दु र निर्माण प्रक्रियालाई थप जटिल बनाएको छ।
द्रुतमार्गमा निर्माण गर्नुपर्ने ८९ पुलमध्ये ८५ वटाको ठेक्का सम्झौता भई काम भइरहेको छ। खोकना खण्डका चारवटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ। हालसम्म पाँचवटा पुल निर्माण सम्पन्न भएका छन्। आयोजनाअन्तर्गत ८२ मिटरसम्म अग्ला पुल निर्माण गरिएका छन्।
द्रुतमार्ग निर्माणका लागि भ्याटसहित २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। गत भदौ मसान्तसम्म आयोजनामा ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ।

